काठमाडौँ । काठमाडौं उपत्यकालगायत देशभरका विभिन्न स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार अहिले विशेषगरी सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र मधेश प्रदेशमा मध्यम खालको वर्षा भइरहेको छ ।
दिउँसो केही बेर खुले पनि फेरि वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । दिउँसो अलि कम र राति बढी वर्षा हुने भइरहेको छ।’
यसैबीच मौसम महाशाखाले आगामी २४ घण्टा (बिहीबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गरेको छ। मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ । मधेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।
त्यसैले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्र र दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने देखिएको महाशाखाले जनाएको छ। भारी वर्षा, मेघगर्जन/चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ।