सर्लाही । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले नेकपा एमालेसँग मिलेर नयाँ सरकार बनाउन लागेको हल्ला सत्य नभएको बताएका छन् ।
सर्लाहीको कौडेनामा आज नगर अस्पतालको उद्घाटन गर्दै मन्त्री बस्नेतले एमालेलाई काउसोको संज्ञा दिँदै उनले यो गठबन्धन नै कायम रहने दावी गरे । नेकपा एमालेमा बस्न नसकेर यसअघि समाजवादी तथा माओवादीका नेताहरुसमेत बाहिरिएकाले त्यस्तो काउसो जस्तो पार्टीसँग कांग्रेस मिल्नै नसक्ने उनको भनाई छ ।
कार्यक्रममा खानेपानी मन्त्री महिन्द्र राय यादवले पनि यो गठबन्धन नै कायम रहने बताए । यो सरकारले नागरिकताको समस्या समाधानसहित जनताका समस्या हल गर्दै अघि बढिरहेको उल्लेख गरे ।
गाउँपालिकाले १ करोड ७९ लाख रुपैयाँ लागतमा १५ बेडको अस्पताल तयार पारेको गाउँपालिकाका अध्यक्ष रुपेश कुमार यादवले जानकारी दिए । अस्पताल संचालनका लागि गाउँपालिकाले भर्खरै सूचना निकालेर विशेषज्ञ चिकित्सकको व्यवस्था समेत गरिसकेको छ ।
गाउँपालिका अध्यक्ष यादवले चुनावका बेला आफूले जनतामा गरेको बाचाअनुसार अस्पताल निर्माण गरेको उल्लेख गर्दै अब आफूले अन्य वाचा पनि पूरा गर्दै जाने बताए ।
उनले जनताकै सेवा सुविधाका लागि र गाउँपालिकाको हितका लागि आफूले कुनै पनि प्रकारको सरकारी सेवा सुविधा नलिएको र अन्य जनप्रतिनिधिले पनि एकदेखि दुई महिनाको सुविधा नलिएर गाउँपालिकाको हितमा समर्पण गरेको बताएका छन् ।



















