काठमाडौं । आज पनि देशभर वर्षा हुने र तराईमा हावाहुरीसमेत आउने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस क्रममा कोशी र बागमती प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
त्यस्तै मधेश प्रदेश र कोशी प्रदेशको तराईका धेरै स्थान तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना देखिएको महाशाखाले जनाएको छ।
महाशाखाको बुलेटिनअनुसार आज राति पनि देशका विभिन्न स्थानमा वर्षा तथा तराईमा हावाहुरी आउने सम्भावना छ।