काठमाडौँ । आज सबै प्रदेशमा वर्षा हुने र तराई क्षेत्रमा हावाहरी समेत चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका एक÷दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो तराईका धेरै ठाउँमा हावाहुरी चल्ने सम्भावना समेत रहेको बुलेटिनमा उल्लेख छ। राति पनि कोशी, बागमती र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी भूभागका थोरै ठाउँमा मेघगर्जन/चट्याङ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। आज राति कोशी प्रदेश र मधेश प्रदेशका धेरै स्थान र बाँकी तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।