काठमाडौँ । आज विहानैदेखि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेको छ भने आजँ पाँच प्रदेशमा भारी वर्ष हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम महाशाखाका अनुसार दिउँसो पनि देशभर सामान्यदेखि पूर्णतया बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
मौसमविद् रोजन लामिछानेका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकामा दिउँसो वर्षाको सम्भावना भए पनि भारी वर्षाको सम्भावना भने नदेखिएको मौसमविद् लामिछानेले बताएका छन् ।
मौसमविद्का अनुसार २४ घण्टामा– १० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ ।
मौसम महाशाखाका अनुसार आज राति कोशी र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा सामान्यदखि पूर्णतया बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।