काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो निजी सचिवालय विघटन गर्नुपर्ने बताएका छन् ।
‘प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रम’ का लागि एक जना सांसदले गरेको प्रश्नको जवाफ समेत तयार गरिदिन नसक्ने प्रधानमन्त्रीको सचिवालय आवश्यक नभएको उनको भनाई थियो ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, राष्ट्रपति कार्यालय, राष्ट्रिय योजना आयोगको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उपाध्यक्ष पाण्डेले प्रधानमन्त्री दाहालको सचिवालय अस्तव्यस्त रहेको दावी समेत गरे ।
उनले मन्त्रालयहरु तपाईको नेतृत्वमा चलिरहेका छन कि छैनन् ? भनेर पनि प्रधानमन्त्री दाहाललाई प्रश्न गरे । प्रधानमन्त्री दाहालले आफूमा शक्ति केन्द्रित हुने गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अन्तरगत निकायहरुलाई कायमै राखेकोमा पनि उपाध्यक्ष पाण्डेले आपत्ति जनाए ।
उपाध्यक्ष पाण्डेले सरकारले ल्याएको बजेट सन्तुलित नभएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।



















