दोलखा । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भष्टाचार र अनियमितता गर्नु अघि दश पटक सोच्ने वातावरण बनाउन वर्तमान सरकार लागेको बताएका छन् । दोलखा उद्योग वाणिज्य संघले शनिवार आयोजना गरेको ब्यवसायिक क्षेत्रसँगको समसामयिक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान मन्त्री श्रेष्ठले वर्तमान सरकार सुसासन र देशको आर्थिक संबृद्धिको लागि प्रतिवद्ध रहेको बताए ।
अहिले ३० लाख युवा खाडिको ४०-५० डिग्रीको गर्मिमा पसिना चुहाईरहेको उल्लेख गर्दै श्रेष्ठले देशमानै रोजगारीका अवसर सिर्जना गरी उनीहरु रोजगारीकालागि विदेश जाने क्रम रोक्न यहीँ रोजगारी सिर्जना गर्ने तर्फ सरकार लागिरहेको बताए ।
देशमा लामो समयको संघर्ष पछि स्थापित गणतन्त्रको संरक्षणकालागि आर्थिक र सामाजिक परिवर्तनको जनताले प्रत्यक्ष अनुभूति गर्न पाउनु पर्ने बताउँदै जनअपेक्षा अनुरुप जनताको जीवनको गुणस्तरमा परिवर्तन आउन नसकेको उनको भनाई थियो । जन अपेक्षा अनुसार आर्थिक रुपान्तरणको गति कम भए पनि यसका लागि प्रयार भइरहेको उनले बताए ।
देशमा आर्थिक संबृद्धि कायम गर्न सरकार, निजी क्षेत्र तथा सहकारीले मिलेर काम गर्नु पर्नेमा जोड दिँदै श्रेष्ठले ब्यावसायीहरुका बैंकको ब्याजदर घटाउने, ऋणतिर्न पूनःर्तालिकिकरण गर्ने लगायतका मागहरुको बारेमा नेपाल राष्ट्रबैंकसँग परामर्श भइरहेको बताए । केही अराजक तत्वहरुले बैंकको ऋण नै तिर्न पर्दैन भन्ने जस्ता अराजक कुरा गर्ने गरेको उल्लेख गर्दै उपप्रधान मन्त्री श्रेष्ठे ऋण लिए पनि तिर्नु पर्छ भन्ने कुरामा ब्यावसायीहरु सचेत हुन पर्ने बताए ।
























