काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले कृषि उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताएका छन् ।
बिहीवार अर्थ मन्त्रालयमा नेपाली किसानहरुले अर्थमन्त्रीलाई आलु, प्याज तरकारीमा कर लगाएर नेपालमा कृषि उत्पादन गर्न सहज वातावरण बनाएकोप्रति आभार प्रकट गर्न पुगेको किसानहरुको टोलीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारले विगतमा कृषि क्षेत्रमा दिने अनुदान वास्तविक किसानले अनुदान नपाएको भन्दै उत्पादन हेरेर अनुदान दिने व्यवस्था बजेटले गरेको बताए । अर्थमन्त्री महतले सरकारले तरकारीमा कर स्थानीय उत्पादन वृद्धि र संरक्षण गर्नकै लागि लगाएको दाबी गरे ।
उनले सरकारले आयातित आलु, प्याज रोक्ने र स्थानिय उत्पादनको प्रोत्साहन र सरंक्षण गर्ने मुख्य उद्देश्य रहेको भन्दै बजेट आएपछि स्वार्थ समूहले गलत प्रचार गरिरहेको बताए । उनले आलु प्याजमा लगाएको करले उपभोक्ता मूल्यमा वृद्धि नहुने उल्टो मूल्य घट्ने बताए । उनले करको व्यवस्थाले मुलतः आयातित वस्तु मात्रै महँगो हुने भन्दै स्थानीय उत्पादनलाई महँगो नबनाउने बताए । अर्थमन्त्री महतले सुपर मार्केटमा त्यही खालका उपभोक्ताहरु पुग्ने भएकाले त्यहाँ कर लगाएको बताए । उनले सरकारसँग स्थानिय उत्पादनलाई प्रोत्साहन गर्न कर लगाउनुको विकल्प नभएकाले कर लगाएको बताए । उनले तरकारीमा कर लगाउने सरकारको कदम मुलुकलाई आत्मनिर्भर उन्मुख गराउने उद्देश्य रहेको बताए ।