काठमाडौँ । आजबाट मौसम बदली (बादल लाग्ने) र वर्षा हुने क्रम क्रमशः बढ्दै जाने भएकाले अब केही दिनदेखि भइरहेको गर्मीमा राहत महसुस हुने अपेक्षा गरिएको मौसमविद्ले बताएका छन् ।
दुई हप्ताभन्दा बढी दिनदेखि बादल नलाग्ने र पानी नपर्दा देशभर गर्मी बढेको छ भने विशेषगरी तराई क्षेत्रमा अत्यधिक गर्मी र तातो हावाले जनजीवन निकै कष्टकर भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार क्रमशः मौसम बदली र वर्षा हुने सम्भावना बढेकाले निरन्तर उकालो लागेको तापक्रम धेरैजसो स्थानमा स्थिर रहने वा केही डिग्री घट्ने छ ।
मौसम महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही बाँकी स्थानमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक÷दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
मौसमविद् कँडेलका अनुसार आज अपराह्न काठमाडौं उपत्यकामा पनि क्षणिक वर्षाको सम्भावना छ । दिउँसो २/३ बजेपछि काठमाडौं उपत्यकामा पनि क्षणिक वर्षा हुने सम्भावना रहेकाले गर्मीमा केही राहत मिल्ने छ ।
यस्तै राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनुका साथै देशका बाँकी पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानका साथै मधेश प्रदेशलगायत देशका बाँकी पहाडी भेगका एक/दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।