धनगढी । गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै सुदूरपश्चिममा हड्ताल गरिएको छ ।
माघ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो तर जेठ १५ मा सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेटमा विश्वविद्यालयको ठाउँमा प्रतिष्ठानका रुपमा अघि बढाउने र एक सय शैय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरिएको थियो ।
सरकारले आफ्नै निर्णयविपरीत गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेको भन्दै संघर्ष समिति आन्दोलनमा उत्रिएको छ ।
विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आज सुदूरपश्चिममा आम हड्ताल गरिएको हो ।
हड्तालका कारण प्रदेशका ९ वटै जिल्लामा बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधन चल्न नसकेको प्रहरीले जनाएको छ ।
विभिन्न जिल्लामा रात्रिकालीन सवारी साधन भित्रिने क्रम भने जारी रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।
शैक्षिक संस्था, बजार व्यवसाय पनि सञ्चालन हुन सकेका छैनन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले हड्तालका कारण अत्यावश्यकबाहेकका सेवा प्रभावित भएको जानकारी दिएका छन् ।
सरकारले विश्वविद्यालय निर्माण गर्ने निर्णय नगरेसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने संघर्ष समितिको चेतावनी दिएको छ ।