काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा आफ्नो पार्टीका सांसदहरुको केही दिन यताको बहस अमर्यादित भएको भन्दै माफी मागेका छन् ।
बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति लामिछानेले विगत केही दिन यता प्रतिनिधि सभामा भएको छलफलबाट आफू लज्जित भएको बताएका हुन् । उनले प्रतिनिधि सभा बैठकमा राँगा र भैँसीको विषयमा गफ गरेर पाँच वर्ष बिताएमा गोबर बाहेक केही पनि नपाउने बताए ।
उनले सो विषयमा गरेको गफप्रति आफू आत्मआलोचित भएको बताए । सभापति लामिछानेले बजेटको विषयमा कुराकानी गरिरहँदा यस्तो विषय बैठकमा उठ्नुले सर्वसाधारणमा राम्रो सन्देश नगएको भन्दै आफ्नो भागमा पर्ने दोषप्रति आफू जिम्मेवार भएको र क्षमा याचना गर्ने बताएका हुन् ।
सभापति लामिछानेले हचुवाको भरमा बजेट निर्माण भएको टिप्पणी गरे । उनले बजेट राजस्वमा आधारित भएको भन्दै कार्यान्वयनमा आशंका गरे । उनले गोरखा, नुवाकोट र डडेलधुरामा मात्रै विकास बजेट गएको समाचारहरु बाहिरिएको भन्दै यस सम्बन्धमा अर्थमन्त्रीको जवाफको माग गरे । उनले बजेटमा विदेशमा भएका नेपालीलाई मताधिकार दिने विषय नपरेकोमा असन्तुष्टि व्यक्त गरे । सभापति लामिगछानेले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन माग गरे ।
त्यसैगरी उनले आगामी दिनमा बजेट बन्नुभन्दा ५ महिनाअगाडि नै शिक्षा र स्वास्थ्य नीति कस्तो बनाउने भन्ने सम्बन्धमा बृहत छलफल गरेर साझा अवधारणा बनाउनुपर्नेमा जोड दिए । त्यस्तै आफुहरु जन्मसिद्ध नागरिकहरुले नागरिकता पाउनुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गर्दै नागरिकता विधेयक संसदमा छलफल हुनुपर्ने र आफूहरु छलफलमा भाग लिन पाउनुपर्ने पक्षमा रहेको बताए ।

























