काठमाडौँ । तीनदेखि बढेको गर्मी अझै कम्तीमा ३ दिन नघट्ने मौसमविद्ले बताएका छन् । वर्षाको खासै सम्भावना नभएकाले तापक्रम अर्थात् गर्मी घट्ने सम्भावना नदेखिएको मौसमविद्ले बताएका छन् ।
मौसम बदली र वर्षा कम भएसँगै केही दिनयता देशभर गर्मी बढेको छ । गर्मीले विशेषगरी तराई क्षेत्रको जनजीवन कष्टकर बनेको छ। अत्यधिक गर्मीका कारण तराईका कतिपय स्थानमा विद्यालय नै बन्द गरिएका छन् ।
देशको पश्चिमी तथा पहाडी क्षेत्रमा भने मौसम बदली र छिटपुट वर्षा भइरहेकाले तुलनात्मक रूपमा गर्मी कम छ । तर काठमाडौं उपत्यकामा पनि केही दिनदेखि गर्मी महसुस भइरहेको छ ।
बिहीबारको मापनअनुसार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस पुगेको थियो ।
जनकपुर, सिमराजस्ता स्थानमा अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको मौसम महाशाखाको तथ्यांकमा उल्लेख गरिएको छ।
तापक्रम घट्न पानी नै पर्नुपर्ने हुन्छ। पहाडी भेगमा फाटफुट वर्षा भए पनि तराईमा भने वर्षा हुनै सकेको छैन । जसले गर्दा त्यहाँ बढी गर्मी भई जनजीवन प्रभावित हुने मौसमविद्को चेतावनी छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । यस क्रममा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा देशका बाँकी पहाडी भेगका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा (१० मिलिमिटरसम्म पानी पर्नु) को सम्भावना छ।
समविद्का अनुसार एक/दुई ठाउँमा मात्र वर्षाको सम्भावना देखिनु पानी पर्ने सम्भावना कम हुनु हो ।
मौसम महाशाखाका अनुसार आज राति देशका पहाडी भेगमा आंशिक बदली (२६ प्रतिशतदेखि ५० प्रतिशतसम्म आकाशमा बादल) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । यस क्रममा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ।