काठमाडौँ । आज बिहानैदेखि देशभरको मौसम बदली भई विभिन्न स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशमा पनि एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
देशको पश्चिमी क्षेत्रबाट पश्चिमी न्यून चापीय प्रणाली (वर्षा गराउने मौसमी प्रणाली) छिरेको छ र यो क्रमशः पूर्व सर्ने क्रममा आज देशभरजसो नै पानी पर्ने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले बताएका छन् । केही स्थानमा भारी वर्षा पनि हुने सम्भावना देखिएको बताइएको छ ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको छ।
मौसमविद्का अनुसार १० मिलिमिटरसम्म पानी पर्नुलाई हल्का वर्षा, १० देखि माथि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम र ५० देखि सय मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा भनिन्छ।
यस्तै आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशका तराईमा हावाहुरीको पनि सम्भावना रहेको मौसमविद् अधिकारीले जानकारी दिएका छन् ।