काठमाडौं । कालीकोटमा बलात्कार आरोपीलाई पक्राउ गर्दा स्थानीयले प्रहरीलाई ढुंगामुढा गरेका छन् भने बलात्कार आरोपित हत्कडीसहित फरार भएका छन् ।
सोमबार बिहान पलाँता गाउँपालिका ६ सैनामा जबर्जस्ती करणीका अभियुक्त संक बुढालाई पक्रेर इलाका प्रहरी कार्यालय पलाँतातर्फ लैजाने क्रममा स्थानीयले प्रहरी टोलीमाथि ढुंगामुढा गरेका थिए भने त्यही मौकमा आरोपित ३१ वर्षीय बुढा हत्कडीसहित भागेको प्रहरीले जनाएको छ ।
सो घटनामा सहायक प्रहरी निरीक्षक लक्ष्मी ढुंगेल रावल र एक स्थानीय घाइते भएको बताइएको छ ।
फरार भएका बलात्कार आरोपित बुढाको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र नजिकका प्रहरी चौकीबाट थप टोली त्यसतर्फ खटाइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक माधव श्रेष्ठले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार बुढाले २०७९ असोज ३१ गते गाउँकै एक महिलालाई जबर्जस्ती करणी गरेका थिए । पीडित परिवारले कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको थियो ।