स्विजरल्याड । ‘बिरामी सुरक्षा सम्बन्धी पाँचौँ मन्त्री स्तरीय शिखर सम्मेलन’मा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी स्वीट्जरल्याण्ड पुगेका छन् ।
मन्त्री गिरीसँग विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले आफ्नो कार्यकक्षमा भेट गरेका छन् ।
भेटमा मन्त्री गिरीले विश्व स्वास्थ्य सङ्गठनले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको लागि धन्यवाद दिएका छन् ।
उनले विशेष गरी खोप कार्यक्रम पोलियोलयागत खोप, विभिन्न प्रकोपहरूको नियन्त्रण रोकथाम, निवारण र उन्मूलनमा खेलेको योगदानको साथै मातृ शिशु स्वास्थ्यमा नेपालका लागि खेलेको भूमिकाका लागि धन्यवाद दिएको बताइएको छ ।
भेटमा २०७२ सालको भूकम्प, हैजा प्रकोप, कोभिड महामारी र कोभिड खोप नेपालका लागि उपलब्ध गराउन खेलेको भूमिकाको लागि समेत मन्त्री गिरीले धन्यवाद व्यक्त गरेका छन् ।
सो अवसरमा मन्त्री गिरीले नसर्ने रोग र मानसिक स्वास्थ्य तथा प्रति जैविक औषधीको प्रतिरक्षा प्रणाली लगायतका हाल भइरहेका गतिविधिहरू विस्तार र आपसी सहकार्य समन्वयमा गर्ने बताएका उनको सचिवालयले जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका समन्वय सेन्टरहरू निर्माण र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सुदृढीकरण स्वास्थ्य सुरक्षा र अन्तर्राष्ट्रिय स्वास्थ्य नियमनको कार्यान्वयनका लागि मूल क्षमता अभिवृद्धिका लागि निरन्तर सहयोगका कुराहरूका विषयमा भेटमा छलफल भएको मन्त्रीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीले बताएका छन् ।
























