काठमाडौं । ग्यास लिक भएर आगलागी हुँदा घाइते भएका नेपाली कांग्रेस नेता तथा सांसद चन्द्र भण्डारीको मुम्बईमा उपचार सुरु भएको छ ।
मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा भर्ना भएर उपचार सुरु भएको उनीसँगै गएका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिएका छन् ।
सांसद भण्डारीलाई बिहीबार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको थियो । अस्पताल स्रोतलाई उल्लेख गर्दै कांग्रेस नेता कँडेलले भण्डारी खतरामुक्त रहेको बताएका छन् ।
अस्पतालका डा. सुजिल केस्वानीले दिएको काउन्सिल अनुसार बिहान साढे १० बजे पहिलो सर्जरी र दिउँसो साढे १ बजे दोस्रो सर्जरी गर्ने तयारी छ।
चिकित्सका अनुसार हृदयको चाल नर्मल रहेको, एण्टीवायोटिक्स कन्टीन्यू गर्ने र आत्तिनु नपर्ने जानकारी प्राप्त भएको उनले बताएका छन्। साथै, सबै पारमिटरहरू नर्मल रहेको चिकित्सकले बताएको कँडेलले जानकारी दिएका छन्। भण्डारीलाई ४८ घन्टा भेन्टिलेसनमै राखेर उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन् ।
बुधबार राति नै किर्तिपुर अस्पताल पुर्याइएका भण्डारीको स्वास्थ्य अवस्था जटिल भएकाले थप उपचारका लागि नेपाल बाहिरको सुविधासम्पन अस्पतालमा लैजान चिकित्सकहरुले सिफारिस गरेपछि उनले मुम्वई लगिएको थियो ।
बुधबार राति भएको घटनामा भण्डारीको अनुहारमा आगोले पोलेका कारण त्यसले श्वासनलीमा असर पुर्याएको छ । सांसद भण्डारीकी ८९ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ ।



















