काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) नयाँ नेतृत्वको लागि आज मतदान हुँदैछ ।
काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा मङ्गलबारबाट सुरु भएको २३औं महाधिवशेनको नेतृत्वका लागि आरसी लामिछाने, समिक बडाल र मोती विकले उम्मेदवारी दिएका छन् । लामिछाने वरिष्ठ उपाध्यक्ष, विक उपाध्यक्ष र बडाल महासचिव थिए ।
७ वर्षपछि हुन लागेको यो महाधिवेशनमा सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास भएपनि सहमति हुन नसक्दा मतदान प्रक्रियावाट नेतृत्व चयन गर्न लागिएको हो ।
‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशिल संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मुल नाराका साथ महाधिवेशन सम्पन्न हुन लागेको हो ।
अध्यक्ष मण्डलका सदस्य खिमलाल भट्टराईका अनुसार आज बिहान ८:०० बजेबाट मतदान हुनेछ । ‘चुनावका लागि निर्वाचन आयोगलाई जिम्मा लगाइसकेका छौँ’अध्यक्ष मण्डलका सदस्य भट्टराईले भने ।
सुनिता बराल नेतृत्वको पूर्व कमिटी भङ्ग गरेर एमाले नेता भानुभक्त ढकालको नेतृत्वमा अध्यक्ष मण्डल गठन गरेको थियो, जसले बन्द सत्र र निर्वाचनको प्रक्रिया सम्पन्न गरेर नयाँ नेतृत्वको घोषणा गर्नेछ ।
अध्यक्ष मण्डलको सदस्य तथा निवर्तमान अध्यक्ष सुनिता बरालका अनुसार महाधिवेशनले १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ भने जसअनुसार उपाध्यक्ष चार जना र सचिव १० जना चयन हुनेछन् । महाधिवेशनले १५–१५ सदस्यीय तीन वटा आयोग पनि गठन गर्नेछ ।