काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) को महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ ।
प्रज्ञा भवन कमलादीमा हुने अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको अध्यक्ष सुनिता बरालले जानकारी दिएकी छिन् ।
‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार, समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशिल संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मुल नाराका साथ महाधिवेशन हुन लागेको हो ।
७ वर्षपछि हुन लागेको यो महाधिवेशनमा सहमतिबाट नेतृत्व चयन हुन नसकेमा मतदान प्रक्रियावाट नेतृत्व चयन गर्ने बताइएको छ । भावी नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोती विश्वकर्मा र महासचिव समिक बडालले दाबी गरिरहेका छन् ।
यसअघि २०७२ माघमा भएको महाधिवेशन तत्कालीन नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता भएपछि हुनसकेको थिएन ।
२–४ फागुनसम्म हुने महाधिवेशनको मुख्य उद्देश्य नेतृत्व छनौट गर्ने हो, जसले १९९ सदस्सीय केन्द्रीय समिति गठन गर्नेछ । अध्यक्ष सुनिता बरालका अनुसार तीनवटा केन्द्रीय आयोग पनि निर्माण हुनेछन्, जुन आयोगमा १५ जना सदस्य हुनेछन् । सहमतीबाट नेतृत्व चयन हुन नसकेमा विद्युतीय मतदान हुने प्रबन्ध मिलाइएको छ ।
मंगलबार अपराह्न १२:३० मा उद्घाटन गर्ने महाधिवेशनमा सहभागी हुन देशभरिबाट १०८० प्रतिनिधिले सहभागिता जनाउने अध्यक्ष बरालले जानकारी दिएकी छिन् ।



















