काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिको सवालमा आफ्नो पार्टी सहमतिकै पक्षमा रहेको बताएका छन् ।
पार्टीको प्रदेश कमिटीको बैठकमा सहभागी हुन धनगढी आएका अध्यक्ष नेपालले आइतबार आयोजित पत्रकार सम्मेलनमा सहमतिका आधारमा राष्ट्रपति चुनिनुपर्ने बताएका हुन् ।
‘सबै पार्टीलाई समेटर अगाडि बढनुपर्छ,हाम्रो पार्टीको धारणा पनि विचार मिल्नेसँग हातेमालो गरेर अगाडि बढ्नुपर्छ भन्ने नै हो । मुलुकलाई निकास दिनका लागि सहमतिमा अगाडि बढ्न सके सबैभन्दा राम्रो हन्छ,’ उनले भने।
संविधान, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि प्रधानमन्त्रीले सहमतिमै अगाडि बढ्नुपर्नेमा जोड दिँदै नेता नेपालले राजनीतिक प्रकृतिका मुद्दा थन्क्याएर राख्नुभन्दा छिटो टुङगाउनु राम्रो हुने बताए ।
प्रदेशको हकमा सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत दिलाउनुपर्ने र सबैलाई समेटर जानुपर्नेमा सुझाव दिए ।
सुदूरपश्चिममा नेकपा (एमाले) नेतृत्वमा बनेको सरकार विश्वासको मत पाउन नसकेपछि एक महिनामै ढलेपछि अहिले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएको छ । कांग्रेस नेतृत्वको सरकारले पनि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।




















