काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रपतिमा एमालेका उम्मेद्वारलाई रोक्न कांग्रेसले राष्ट्रिय सहमतिको बहस चलाएको आरोप लगाएका छन् ।
एमाले ताप्लेजुङ-काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङले सरकारलाई समर्थन गरेर कांग्रेसले विभिन्न पदका लागि बार्गेनिङ गरेको भन्दै अहिले राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई रोक्न कांग्रेसले राष्ट्रिय सहमतिको बहस चलाएको आरोप लगाए ।
उनले कांग्रेसकै कारण राष्ट्रपति निर्वाचनमा एमालेलाई माओवादीले भोट हाल्छ कि हाल्दैन भन्ने आशंका पैदा भएको पनि बताए । गुरुङले दक्षिणपन्थी गठबन्धनलाई तोडेर बामपन्थी गठबन्धन बनाउन एमाले सफल भएको भन्दै यसलाई लामो समय कायम राखेर प्राप्त उपलव्धिलाई संस्थागत गर्नुपर्ने बताए । दलीय हिसाबमा वर्तमान सरकारमा एमालेले ११ मन्त्रालय पाउनुपर्ने भएपनि गठबन्धनलाई जोगाउन एमाले उदार भएको गुरुङले बताए।
त्यस्तै एमाले सचिव योगेश भट्टराईले अहिले राष्ट्रिय सहमतिका नाममा राष्ट्रपति जस्तो संवैधानिक पदलाई शक्ति केन्द्रमा रुपमा परिभाषित गर्न खोजिएको बताए । उनले गठबन्धनभित्र भएको सहमतिका आधारमा प्रचण्ड प्रधानमन्त्री भएकाले अब त्यही सहमतिका आधारमा एमालेको उम्मेद्वार राष्ट्रपति हुनुपर्ने बताए । उनले वर्तमान गठबन्धन कायम रहेसम्म यसअघि भएको सहमतिबाट खण्डित हुनुपर्ने अवस्था नरहेको बताए ।




















