काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज शनिबार रात्रिभोजको आयोजना गर्नुभएको छ । संघीय संसदमा सम्बोधन गरेको भोलिपल्ट उहाँले सबै सांसदलाई शीतल निवासमा बोलाउनुभएको छ ।
दिउँसो ३ बजेका लागि सांसदहरूलाई शीतल निवासमा निम्तो दिएको राष्ट्रपतिका कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । प्रतिनिधिसभाका निर्वाचित सांसदलाई बधाई तथा शुभकामना दिन राष्ट्रपतिले सांसदहरूलाई बोलाउनुभएको हो ।
सबै राजनीतिक दलहरू नयाँ राष्ट्रपतिको उम्मेदवार चयन गर्ने छलफलमा केन्द्रित रहँदा कार्यकाल सकेर बिदा हुने अन्तिम समयमा राष्ट्रपतिले शीतल निवास बोलाउनुभएको हो । उहाँको कार्यकाल फागुन २८ गते सकिँदै छ । नयाँ राष्ट्रपतिका लागि फागुन २५ गते चुनाव हुनेछ ।




















