धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले पेस गरेको विश्वासको मत बहुमतले अस्विकृत भएको छ । बिहीबार प्रदेशसभा बैठकले रावलले पेस गरेको विश्वासको मत बहुमतले अस्वीकृत भएको सभामुख भीम भण्डारीले जानकारी दिए । यससँगै मुख्यमन्त्री रावल पदमुक्त भएका छन् ।
उनी नेकपा एमालेबाट मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान रहे पनि उनले अन्तिम दिनमा बसेको प्रदेशसभा बैठकबाट विश्वासको मत पाउन सकेनन् ।
सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीका सांसदहरू बैठकमा अनुपस्थित भएपछि रावलले विश्वासको मत नपाएका हुन् । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइ नभइसम्म विश्वासको मत नदिने अडान लिँदै आएको छ । प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।




















