मलंगवा । उपप्रधान एवम् भौतिक पुर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले देशमा राष्ट्रिय सहमतिको वातावरण बन्दै गएको दाबी गरेका छन् ।
सर्लाहीको बागमती नगरपालिकामा आयोजित राजर्षि जनक कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले वर्तमान सरकार राष्ट्रिय सहमतिको पक्षमा रहेको बताए ।
संविधान र अहिलेसम्म प्राप्त उपलब्धिको रक्षा गर्दै सरकार अगाडी बढेको उनले बताए। सरकार बनेदेखि नै राष्ट्रिय सहमतिको वातावरण बन्दै गरेको भन्दै उनले यो देशका लागि सकारात्मक सन्देश भएको बताए । राष्ट्रिय सहमतिलाई थप बलियो बनाउन सरकार जोडतोडका साथ लागेको मन्त्री श्रेष्ठको दावी छ ।
उनले भने, ‘नेपाललाई समृद्ध बनाउन चाहन्छौं। त्यसको लागि राष्ट्रिय सहमतिको आवश्यकता छ। भौतिक पूर्वाधारको विकास गर्न सरकार लागेको छ। योजनालाई पूरा गर्न नीति तथा कार्यक्रम ल्याएका छन् । तर, सोचे जस्तो हुन सकेको छैन। विकासका कामले विस्तारै गति लिने अपेक्षा गरेका छौँ ।’




















