काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । डिल्लीबजारस्थित जेलमा भएको पार्टीको छलफलले रेशम चौधरीको रिहाइ नभएसम्म विश्वासको मत नदिने निर्णय भएको अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन् ।
उनले सरकारले टीकापुर घटनालाई लेनदेनको विषय बनाएको आरोप लगाए । ‘सरकारले टीकापुर घटना र रेशम चौधरीको रिहाइलाई लेनदेनको विषय बनाए । यो एकदमै दुखद कुरा हो,’ उनले भनिन् ।
उनले नागरिक उन्मुक्ति पार्टी सट्टेबाजीमा बसेको पार्टी नभएको प्रस्ट्याइन्। ‘एउटा एउटा नागरिकलाई न्याय निरुपण गर्नुको कहाँ हो कहाँ नागरिक उन्मुक्ति पार्टीलाई सट्टेबाजजस्तो व्यवहार भइरहेको छ । जेलको ढोका नखुलेसम्म सरकारको ढोका खुल्दैन। चाहे त्यसले जस्तोसुकै परिणाम ल्याउन्,’ उनले भनिन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले भोलि (बुधबार) विश्वासको मत लिँदैछन् । त्यसका लागि प्रदेशसभा बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ । नागरिक उन्मुक्ति पार्टीका सात सांसद निर्णायक बन्दा रावल नेतृत्वको सरकार संकटमा परेको हो । रावलले पर्सी बिहीबारसम्म जसरी पनि विश्वासको मत लिइसक्नुपर्नेछ ।