काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्तारुढ गठबन्धनभित्र ठूलो घटनाहरु हुने खतरा देखिएको बताएका छन् ।
सोमवार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले सत्तारुढ गठबन्धनका नेताहरुमा अधैर्यता र विचलन देखिएको बताएका हुन् । उनले सरकारको सैद्धान्तिक धरातल समेत कमजोर र बिरोधाभाषपूर्ण रहेको भन्दै यसैको परिणाम स्वरुप सरकार अहिलेको अवस्थामा आइपुगेको बताए ।
उनले सत्तारुढ दलका नेताहरु अत्ताल्लिएको भन्दै त्यसले सत्तारुढ गठबन्धनभित्र केही ठूलै घटनाहरु हुने खतरा देखिएको बताए । सत्तारुढ दलहरु मध्ये नेकपा (एमाले) सबैभन्दा विचलित भएको उनको भनाइ छ । उनले प्रधानमन्त्री एउटा हुने र देश अर्कोले चलाउन खोजेको लक्षण देखिएकोले यसो भएमा सकसपूर्ण स्थिति आउने उल्लेख गरे ।
प्रमुख सचेतक लेखकले काँग्रेसले सत्ता समिकरण परिवर्तन गरेर अर्को समिकरण बनाउन नखोजेको स्पष्ट पारे । आफूहरुले अहिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्छ भनेको कुरालाई उल्लेख गर्दै प्रमुख सचेतक लेखकले राष्ट्रिय सहमति काँग्रेसकै लागि होला भन्ने आफूहरुको बुझाइ रहेको बताए ।
आजै प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भेट भएको थियो । सो भेट लगत्तै सभापति देउवासँग भेट गरेका प्रमुख सचेतक लेखकले तीन नेताहरुका बीचमा समसामयिक परिस्थितिको बारेमा कुराकानी भएको बताए ।
समसामयिक राजनीतिक परिस्थितिको बारेमा कुराकानी भए पनि राष्ट्रपति निर्वाचनको सम्बन्धमा कुराकानी नभएको उनको भनाइ छ ।




















