काठमाडौं । नेकपा माओवादी केन्द्रले रवि लामिछानेको मुद्दाको टुंगो नलागेकाले उनको पार्टीले धैर्यता गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
बिहीबार पेरिडाँडामा बसेको स्थायी कमिटी बैठकले उक्त निष्कर्ष निकालेको हो।
‘राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्यता गर्नुपर्छ । किनकि उनको (रवि)को मुद्दा अझै बाँकी छ। टुंगो लागेको छैन,’ पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए ।
उनले सत्ता साझेदार दलमा कुनै समस्या नरहेको बताए । उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह मन्त्रालय रास्वपाले नै पाउनुपर्ने अभिव्यक्ति निजी भएको र यसले गठबन्धनमा कुनै समस्या नल्याउने उनको दाबी छ । प्रधानमन्त्रीको व्यस्तताका कारण आजको बैठक अनिर्णित भएको र बैठक भोलि फेरि बस्ने महराले बताए ।
रास्वपा सभापतिसमेत रहेका लामिछानेले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए। उनले गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएका थिए ।




















