सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको नेतमा यामलाल कँडेल सर्वसम्मत चयन भएका छन् भने माओवादीको संसदीय दलको नेतामा शर्मा चयन भएका छन् ।
बुधबार बसेको नेकपा एमाले कर्णाली प्रदेशको बैठकले कँडेललाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो । कँडेल सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ प्रदेश सभा (१) बाट निर्वाचित भएका थिए । कँडेल २०७४ को निर्वाचनमा पनि प्रदेश सभामा निर्वाचित भएका थिए ।
एमाले संसदीय दलको नेतामा एमाले कर्णाली प्रदेश अध्यक्ष तथा दैलेख निर्वाचन क्षेत्र नम्बर–२ प्रदेश सभा (२) बाट निर्वाचित सांसद विनोदकुमार शाहको पनि दाबी थियो ।
कँडेल नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज समेत हुन् । अघिल्लो पटक कर्णाली प्रदेशको मुख्यमन्त्री हुनका लागि विभिन्न रणनीति खेलेपनि मुख्यमन्त्री हुन असफल भएका थिए । यस पटक कँडेल मुख्यमन्त्री हुन सक्ने सम्भावना बढेको छ ।
यता, माओवादीले पनि रुकुमपश्चिमका राजकुमार शर्मालाई मंगलबार र बुधबार बसेको बैठकले दलको नेतामा सर्वसम्मत चयन गरेको छ ।
शर्मा रुकुमपश्चिम प्रदेश सभा (२) बाट निर्वाचित संसद हुन् । यसअघि माओवादीबाट दलको नेतामा दुई जनाको नाम चर्चामा रहेको थियो । जसमा शर्मासँगै सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ प्रदेश सभा (२) बाट निर्वाचित संसद विन्दमान विष्ट पनि दलको नेताको रुपमा चर्चामा रहेका थिए । त्यस्तै कालिकोटका दुर्गबहादुर रावत र सुर्खेतका कृष्ण जिसीले पनि दलको नेतामा दावी गरेका थिए । अन्तिममा तीनैजना ब्याक हुँदा शर्मा सर्वसम्मत रुपमा दलको नेतामा चयन भएका हुन् ।
शर्मा ०७४ मा जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख थिए भने पार्टीको जिल्ला इञ्चार्ज हुँदै प्रदेश अध्यक्ष थिए ।
साथै, शर्मा नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य समेत हुन् ।
अब कर्णालीमा एमाले र माओवादीबीच कसले सरकारको नेतृत्व गर्ने भन्ने विषयमा रस्साकस्सी सुरु हुनेछ ।