काठमाडौं । देशभर तापक्रम क्रमिक रुपमा घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सबैभन्दा बढी चिसो जुम्ला र मुस्ताङमा देखिएको छ ।
जुम्लामा न्यूनतम तापक्रम माइनस ४.५ डिग्री सेल्सियस देखिएको छ भने जोमसोममा न्यूनतम तापक्रम माइनस ४ डिग्री सेल्सियस पुगेको हो ।
काठमाडौंको न्यूनतम तापक्रम घटेर ६ डिग्री सेल्सियस पुगेको छ । जिरीमा न्यूनतम तापक्रम शून्य आसपास पुगेको छ ।
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली भने छैन । सोमबार देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । मंगलबार पनि प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
तराईका केही भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाको अनुरोध छ ।



















