काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनले देशलाई कता लाने भन्ने फैसला गर्ने बताएका छन् ।
कालीकोटको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले फुटेको हाँडीजस्तो जोडेर बनाइएको कठपुतलीजस्तो सत्ता गठबन्धनले एमालेविरुद्ध गलत प्रचार गरेको टिप्पणी गरेका छन् ।
वृद्धभत्ताले गरिबी र अप्ठ्यारो ठाउँमा ठूलो राहत मिलेको बताउँदै ओलीले ज्येष्ठ नागरिकलाई सम्झिएर वृद्धभत्ता बाँड्दा विरोधीहरू आत्तिएको बताए । ओलीले भने “६० वर्षमाथिकालाई एमालेले गोली हानेर मार्छ भन्ने विरोधीहरुले भ्रम फैलाइएा थिए । तर, हामीले घरघरमा पैसा पुर्याउने काम गरेपछि आत्तिए । महिनाको सय रूपैयाँबाट सुरू गरेको भत्ता अहिले ४ हजार पुर्याएका छौँ । यसलाई समयअनुसार बढाउँदै जान्छौं ।”
सडकमा फालिएका बालकालिकसमेत एमालेले संरक्षण गरेको बताउँदै ओलीले पूर्व–पश्चिम राजमार्ग र रेल निर्माण सुरू गरेको बताए ।
भारतसँग मात्रै निर्भर रहेको अवस्थालाई अन्त्य गर्दै चीनतिरबाट पनि बाटो खोलेर यातायात र पारवहन सम्झौता गरेपछि नाकाबन्दी लाग्नै नसक्ने अवस्थामा देशलाई पुर्याएपछि एमाले विरोधीहरु झन् आत्तिएको ओलीले बताएका छन् ।
अध्यक्ष ओलील आफूले सार्वभौम सत्ता बराबरी हुने भएकाले कसैसँग पनि शिर नझुकाइ काम गरेको दोहोर्याएका छन् ।
अध्यक्ष ओलीले प्रचण्ड दक्षिणपन्थीका शरणमा पुगेको आरोप लगाएका छन् । उनले सरकार सहज रूपमा चलाउन नदिएपछि ताजा जनादेशका लागि संसद् विघटन गर्नु परेको स्पष्ट पारेका छन् ।
‘हामीले राष्ट्रिय हितका विषयमा शिर झुकाएर कुरा गरेनौँ, एमालेले प्रतिगमन गर्यो रे,’ ओलीले भने , ‘माओवादीलाई साथमा लिएर ३६ सिट जितायौँ, तर सहमति तोडे, दक्षिणपन्थी शक्तिसँग मिलेर सरकार टुटाउने काम गरे, जहिले नक्कली कुरा गरे । ’
केही दिनअघि माओवादी अध्यक्ष प्रचण्ड रास्कोट पुगेर ओलीलाई प्रतिगमनकारी भनेका थिए । ओलीले त्यसको जवाफ दिँदै भने, ‘कांग्रेसका पछाडि लागेर रास्कोट आएर प्रतिगमन गर्यो रे । मैले प्रतिगमन गर्ने काम कहिलै गरिनँ ।’