अछाम । मंगलबार रातिदेखि पटक-पटक आइरहेको परकम्पले अछामका स्थानीय त्रसित भएका छन् ।
यहाँका स्थानीय बासिन्दाहरु घरभित्र बस्न सकेका छैनन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर मंगलबार राति ९ बजेर ७ मिनेटमा ५.७ सेक्टर स्केलको भूकम्प र त्यसपछि ६ पटकसम्म परकम्प महसुस भएको छ।
फेरि बुधबार बिहान २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले जिल्लामा मानवीय क्षति नभए पनि केही घरहरु भत्केको र केही चर्केको खबर प्राप्त भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी कैलाश बिष्टले अहिले प्रहरीले घटनाको विवरण संकलन गरिरहेकाले आधिकारिक तथ्यांक आउन समय लाग्ने बताए ।
साँफेबगर नगरपालिका १४ पातलकोट भास्कुन गाउँका अधिकांश घरहरु चर्केर बस्नै नमिल्ने अवस्थाको रहेको वडाध्यक्ष सन्जु थापाले बताए । उनका अनुसार अधिकांश चर्केका छन्, सबै स्थानीयहरु घर बाहिर बसेका छन् ,बेला बेलामा भूकम्पको धक्का महसुस भइरहेको छ।
साँफेबगर नगरपालिका प्रमुख राजेन्द्रबहादुर कुँवरका अनुसार अहिले प्रत्येक वडामा पुगेर क्षतिको विवरण संकलनको काम भइरहेको छ । साँफेबगर नगरपालिका – ६ भाग्यश्वरमा पनि ९ घरमा क्षति पुगेको स्थानीयले बताएका छन् ।