काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्यान्ड पुग्नुभएको छ । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्ल्यूपीएल)’ मा सहभागी हुन राष्ट्रपति भण्डारी मंगलबार राति आइसल्यान्ड पुग्नुभएको हो ।
राष्ट्रपति भण्डारीलाई आइसल्यान्डको विदेश मन्त्रालयका चिफ अफ प्रोटोकल एस्ट्रिड ब्रेक्किन र डेनमार्कस्थित नेपाली दूतावासका उपनियोग प्रमुख तीर्थराज अर्यालले स्वागत गरेका छन् । कतार, जर्मनी हुँदै राष्ट्रपति आइसल्यान्ड पुग्नुभएको हो ।
भण्डारीले आज उक्त सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । उहाँले आज ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपतिको भ्रमण दलमा उहाँकी छोरी उषाकिरण भण्डारी, मन्त्रालयका सचिव भरतराज पौड्याललगायत छन् । डब्ल्यूपीएल, आइसल्यान्ड सरकार र त्यहाँको संसदले संयुक्त रुपमा उक्त कार्यक्रम आयोजना गरेका हुन् ।
भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी कार्तिक २६ गते स्वदेश फर्कने कार्यक्रम छ ।