काठमाडौँ । नयाँदिल्ली उड्न लागेको नेपाल वायुसेवा निगमको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएको छ । २ सय ५४ जना यात्रु लिएर भारतको नयाँदिल्ली उड्न लागेको नेपाल वायुसेवा निगमको वाइडबडीको आरए- २१७ उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकिएको हो ।
नागरिक उड्डयन प्राधिकरणले जाडो यामका लागि स्वीकृत गर्ने अन्तर्राष्ट्रिय उडानहरूको तालिका अक्टोबर ३० देखि मार्च २७ सम्म मा निगमको आइतबार र शुक्रबार दिउँसो पौने २ बजे दिल्लीका लागि काठमाडौंबाट हुने उडान कटौती गरेको जनाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले आइतबार उडान रोकिदिएको निगमका उपनिर्देशक रमेश पौडेलले जानकारी दिए ।
उनले प्राधिकरणले निगम र हिमालय एयरलायन्सलाई भैरहवाबाट पनि उडान सुरु गर्न भनेको तर आफूहरूले त्यहाँ यात्रु अभावका कारण तालिका नराखेकाले काठमाडौंमा दिउँसो सातै दिन दिल्लीका लागि हुँदै आएको उडानमा दुईवटा उडान प्राधिकरणले कटौती गरिदिएको बताए ।
उता विमानस्थलका महाप्रबन्धक ठाकुरले अनुमति नलिई यात्रु बोर्डिङ गरेकाले निगमको उडान रोक्नुपरेको जानकारी दिए ।
ठाकुरका अनुसार अनुमति नै नलिई यात्रु बोर्डिङ गरिहाले पनि एयर ट्राफिकले नै जहाजलाई उड्न अनुमति दिँदैन । उनले आइतबारका लागि निगमले २ सय ७३ जना यात्रुलाई टिकट बिक्री गरिसकेको बताए । उता बोर्डिङ पास लिइसकेका यात्रुले नाराबाजी गरिरहेको निगमको विमानस्थलमा रहेका एक अधिकृतले जानकारी दिए ।

























