काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाका विभिन्न ठाउँमा आएको बाढीपहिरामा परी घाइते भएका र प्रभावितलाई तत्काल उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् । उनले आवश्यकतानुसार हेलिकोप्टरको प्रयोग गर्नसमेत निर्देशन दिए ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले गृहमन्त्री खाँणको निर्देशनपछि बाढी र पहिरोमा परी गम्भीर घाइतेको उद्धार गर्न कर्णाली प्रदेशको सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर घटनास्थलमा पुगेको र घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरिएको जानकारी दिए ।
नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख डिआइजी मोहन आचार्यका अनुसार महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा पहिराले ठूलो क्षति पु-याएको छ । अहिलेसम्म पाँच जनाको शव भेटिएको छ भने सातजना बेपत्ता तथा आठजना घाइते भएका छन् । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको उनले बताए ।
गृहमन्त्री खाँणले बाढीपहिरोबाट विस्थापितलाई तत्कालीन राहत, उद्धार र स्थानान्तरणमा कुनै कमी हुन नदिन यथाशीघ्र उद्धार गर्न निर्देशन दिए । उनले सरकार नागरिकको जीवनरक्षाका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै त्यसका लागि कुनै कसर बाँकी नराख्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।