इटहरी । तराई–मधेश क्षेत्रको प्रमुख नगदे बालीका रूपमा लगाइने जुटखेती क्रमिकरूपमा घट्दै आएको छ ।
विशेष गरी सुनसरी, मोरङ र झापामा सबैभन्दा धेरै जुटखेती उत्पादन हुने गर्दछ ।
पछिल्लो समय जुटखेतीतर्फ किसानको आकर्षण भने घट्दै गइरहेको छ । लगानी अनुकूल प्रतिफल प्राप्त नहुनु, प्रशोधनको नयाँ प्रविधि नहुनु तथा मजदुर अभावका कारण उनीहरुको आकर्षण घट्दै गएको हो ।
झन्झटिलो प्रशोधन प्रक्रिया र मजदुर अभावका कारणले पनि जुटखेती क्रमिकरूपमा घट्दै गएको जनाइएको छ ।
जुटको मूल्य पनि खासै नपाइने र झन्झटिलो प्रशोधन प्रक्रिया, सिँचाइको असुविधालगायतका कारणले जुटखेतीको क्षेत्रफल घटाएको किसान बताउँछन् ।
कुनै समय जुटखेतीका लागि उर्वर मानिने सुनसरीको दक्षिणवर्ती सीमावर्ती क्षेत्र नरसिंह भोक्राहा गाउँपालिका, हरिनगर गाउँपालिकाको गौतमपुर, रामनगर भुटाहा, घुस्की, वसन्तपुर, कोसी गाउँपालिकाको पश्चिम कुशाहा, लौकही, श्रीपुर र हरिपुर क्षेत्रमा जुटखेती अहिले आधाभन्दा कम भइसकेको छ ।
त्यसैगरी देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्ज, मध्यहर्षाही, राजगञ्ज सिनुवारी, साहेबगञ्ज, इनरुवा नगरपालिकाको बबिया र जल्पापुरलगायतका क्षेत्रका किसानले लगाउँदै आएका जुट (टुवा) यस वर्ष आधाभन्दा कम छ ।
थोरै जग्गामा जुटखेती भए पनि मजदुरको अभावमा अहिलेसम्म जुट खेतमै सुक्ने अवस्था आएको स्थानीय किसान वीरेन्द्र यादवले बताएका छन् ।
उनले भने, “स्थानीय सरकारले जुटखेती गर्नेका लागि राहत दिए धेरै खेती गर्ने थियौँ, कहिले दिएन ।”
सुनसरीका किसानले केही वर्ष अघिसम्म जुटबाट राम्रो आम्दानी गर्ने गर्थे । यतिबेला उनीहरू व्यावसायिकरूपमा जुटखेती गर्थे । तर अचेल भने दाउराका लागि मात्रै जुटखेती गर्ने गरेको कोसी गाउँपालिकाका किसान ललित यादवले बताएका छन् ।
उनी भन्छन्, “मेहेनत गरेर खेती लगाउने समयमा जन (मजदुर) पाउँदैन, दिनरात गरेर खेती लगायो काट्नेदेखि बिक्री गर्न समस्या हुन्छ ।”
आर्थिक वर्ष २०७५/७६ मा प्रदेश नं १ मा सात हजार दुई सय ८५ हेक्टर क्षेत्रफलमा जुटखेती गरिएको थियो ।
यसबाट १२ हजार नौ सय ५९ मेट्रिक टन जुट उत्पादन भएको थियो ।
आव २०७६/७७ मा जुटखेती सात हजार पाँच सय ५५ हेक्टर क्षेत्रफलमा लगाउँदा १० हजार एक सय ६५ मेट्रिक टन उत्पादन भएको थियो ।
त्यस्तै आव २०७७/७८ मा सात हजार चार सय १५ हेक्टर क्षेत्रफलमा जुटखेती गरिएको थियो ।
पछिल्लो केही वर्षयता जुटखेती क्रमिकरूपमा घट्दै गएको जुट अनुसन्धान केन्द्र इटहरीका प्रमुख तीर्थराज रिजालले बताएका छन् ।
उनले नगदे बाली भए पनि खेती गर्ने प्रविधि झन्झटिलो भएकाले हरेक वर्ष घट्दै गएको जानकारी दिएका छन् ।