काठमाडौँ । डेंगुको संक्रमणबाट कैलालीमा एक युवतीको मृत्यु भएको छ ।
उपचारका क्रममा ३५ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिए । उनका अनुसार धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया महिलाको निसर्ग अस्पतालमा गत मंगलबार उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालले डेंगु भएको पुष्टि गरेको छ । त्यसको साथै छातीमा समस्या भएको चिकित्सकले जनाएका छन्,’ धामीले भने ।
स्वास्थ्य कार्यालय कैलालीले टेलिफोन मार्फत डेंगुबाट मृत्यु भएको जानकारी दिए पनि औपचारिक रूपमा विवरण आइनसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रणको महाशाखाका एक उच्च अधिकारीले बताए । महाशाखाका अनुसार गत पुसदेखि हालसम्म २ हजार ८२७ जनामा संक्रमण पुष्टि भएको छ ।
देशभर ७२ जिल्लामा डेंगुका बिरामी फेला परेका छन् । सबैभन्दा बढी ललितपुरमा एक हजारभन्दा बढीलाई संक्रमण भएको छ । त्यसैगरी, काठमाडौं, रूपन्देही, धादिङ लगायतका जिल्लामा डेंगुको प्रकोप बढ्दो क्रममा छ ।