काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गम्भीर प्रश्न उठेको व्यक्ति जनार्दन शर्मालाई अर्थमन्त्रीमा पुनर्नियुक्ति गरेर प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताको संवेदनशीलतामाथि नै अपमान गरेको बताएका छन् ।
उनले भने ‘अनधिकृत व्यक्ति प्रवेश गरेको हो कि होइन त्यो अनुत्तरित छ । होइन भन्ने आधारहरु छैन । अरु परिस्थितिजन्य कारणहरुले अनधिकृत व्यक्ति आएको हो भन्ने प्रस्टसँग देखिन्छ । त्यसका लागि प्रमाण नै चाहियो र थप अनुसन्धान जरुरी हुन्छ । गम्भीर प्रश्न उठिसकेपछि पनि फेरि सम्बन्धित पार्टी र प्रधानमन्त्रीले पुनः त्यही ठाउँमा फर्काउनु भनेको नेपाली जनताको संवेदनशीलतालाई अपमान गरेको ठान्दछु ।’
उनले सत्तापक्षले जानीजानी छानबिनलाई अपुरो बनाएको आरोप लगाए । उनले भने- ‘अध्ययन नै अधुरो रहेको हो र जानीबुझी अध्ययनलाई अपुरो बनाइएको हो । अनुसन्धानलाई गहिराइमा पुग्नै दिइएन र पर्याप्त मात्रामा टुल्सहरु प्रयोग गर्न नपाएकोले धेरै प्रश्नहरु नै अनुत्तरित छ।’
बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई पहुँच दिएर करको दर हेरफर गरेको विषयमा छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिका सदस्यसमेत रहेका ज्ञवालीले संसदीय समितिको छानबिन नै अपुरो रहेको जिकिर गरे ।

























