ललितपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारका गलत कामकारबाहीविरुद्ध खरोरुपमा उत्रन निर्देशन दिएका छन् ।
आज पार्टी कार्यालय ललितपुरस्थित च्यासलमा अध्यक्ष ओलीले पार्टी केन्द्रीय विभागका प्रमुख र उपप्रमुखहरूलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिएका हुन् । उनले सबै विभागहरूलाई विषय केन्द्रीत भएर सक्रिय हुन, विज्ञहरूसँग परामर्श लिन तथा गर्ने कामको रोष्टर बनाएर अघि बढ्न समेत आग्रह गरे । उनले पार्टी कमिटीमा समन्वय गरेर मात्रै काम गर्न निर्देशन दिएका छन् ।
अध्यक्ष ओलीको उपस्थितिमा बसेको एमाले केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिव सहभागी बैठकको समापन गर्दै अध्यक्ष ओलीले भने- ‘कतिपय विभागबीच समन्वय गरेर काम गर्नुपर्ने हुन्छन् । ती कामहरु समन्वय गरेर मात्रै गर्न तथा आआफ्ना विभागहरुले गर्नुपर्ने कामको कार्ययोजनासहित तिब्र गति बढाउनुपर्छ ।
बैठकमा ३३ वटै विभागका प्रमुख, उपप्रमुख र सचिवहरूले विभागीय कामको रिपोर्टिङ गर्नुका साथै वार्षिक कार्ययोजना पेश गरेका थिए ।

























