झापा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिष्ट आन्दोलनको मूल धार र मूल प्रवाह नेकपा एमाले भएको र कम्युनिष्टहरूकै विरुद्ध पश्चगामीहरूको गोटी बन्नेहरू कम्युनिष्ट हुनै नसक्ने बताएका छन् ।
राणा शासनविरुद्धको सङ्घर्षदेखि नै समाजवादी आन्दोलनको पक्षमा कम्युनिष्टहरू रहेको र त्यसको मूलधार नेकपा एमाले हो भन्दै अध्यक्ष ओलीले पञ्चायती व्यवस्थाविरुद्ध पनि कम्युनिष्ट नेताहरूले नै नागरिकलाई गोलबद्ध गरेको बताए । नेपाली काँग्रेसले एमालेलाई सधैँ आफ्नो शत्रु देखे पनि एमालेले कहिल्यै पनि वर्ग शत्रु किटान नगरेको बताए ।
अध्यक्ष ओलीले एमाले नेपाली समाजको दिगो विकास, परिवर्तन र नागरिक अधिकारका लागि निरन्तर लड्दै आएको शक्ति हो बताए । नेपाली समाज रूपान्तरणका लागि एमालेको सङ्घर्ष अझै जारी रहेको उनको भनाइ थियो ।
अध्यक्ष ओलीले शुक्रवार बिर्तामोडमा जिल्ला स्तरीय वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पात्र फेरिए पनि प्रवृत्ति नफेरिएका कारण सङ्घर्षलाई थप सशक्त बनाउनुपर्ने धारणा राखे ।
राणा शासन विरुद्धको आन्दोलनदेखि नेपाली कम्युनिष्टहरूले अग्र मोर्चामा आफूलाई उभ्याउँदै आएको चर्चा गर्दै अध्यक्ष ओलीले आफूलाई सबैभन्दा ठूलो प्रजातान्त्रिक शक्ति बताउने काँग्रेसले जनताको पक्षमा लड्दै आएका कम्युनिष्टहरूका विरुद्ध पटक-पटक दमनको नीति लिएको आरोप लगाए ।
देशका विरुद्ध, लोकतन्त्रका विरुद्ध र एमालेका विरुद्ध विभिन्न समूहहरू लागिपरेको बताउँदै उनले राष्ट्रिय स्वाधीनता, विकास र समृद्धिका लागि एमाले नेतृत्वको सरकारले गरेका कामले धेरैलाई टाउको दुखाएको चर्चा गरे ।
बहुदलीय व्यवस्था स्थापनापछि नेपाली काँग्रेसले सबैभन्दा लामो समय सरकारको नेतृत्व गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले भने–“काँग्रेसको नेतृत्वमा देशमा के–के काम भए, अहिलेको सरकार र प्रधानमन्त्रीले उत्तर दिन सक्नुपर्छ ।”
अध्यक्ष ओली स्थानीय तहको निर्वाचनपछि पहिलो पटक बुधवार झापा आएका हुन् । झापा बसाइँका क्रममा उनले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तह दमक, कमल, गौरादह तथा गौरीगञ्जका अगुवा कार्यकर्तासँग अलग अलग भेट गरेका छन् ।

























