सिन्धुली । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विदेशीले चलाएको सरकारले देशलाई निकास दिन नसक्ने बताएका छन् । उनले अहिलेको गठबन्धन सरकार विदेशीले चलाएको आरोप लगाए ।
प्रेस चौतारी सिन्धुलीद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै उपाध्यक्ष पौडेलले गठबन्धन सरकारले संसदबाट पारित गरेको नागरिकता विधेयक विदेशीको इशारामा ल्याएको र यो सरकार विदेशीको कठपुतली भएको आरोप लगाए । उनले सरकार विदेशीको इसारामा चलेको नागरिकता विधेयकले पुष्टि गरेको दाबी गरे । उनले भने, ‘सरकारले ल्याएको बजेटको नाटक र नागरिकता विधेयकले सरकार विदेशीको इशारामा चलेको पुष्टि हुन्छ।’
उनले बजेट वक्तव्यमा देखिएको तमासाले आमनागरिकमा सरकारको गोपनियता र विश्वास दुवै गुमेको बताउँदै तोकिएको समयमा संघ तथा प्रदेशको निर्वाचन नगराउने षडयन्त्रमा लागेको बताए ।
साथै एमाले निर्वाचन सार्ने गठबन्धनको षड्यन्त्रको मुकाबिला गर्न तयार रहेको उनको भनाइ थियो ।




















