काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे संसदमा सार्वजनिक रुपमा उठेका प्रश्नहरुको जवाफ दिने भएका छन् ।
सरकारले गत ६ असारमा एसपीपी अगाडि नबढाउने निर्णय गरेको थियो । उक्त निर्णयबारे अमेरिकालाई जानकारी दिन पत्र नपठाएको भनी सरकारमाथि संसद र सार्वजनिक रुपमा प्रश्न उठ्दै आएको छ ।
४ साउनमा नेकपा एमालेका सांसद भीम रावलले एसपीपीमा संलग्न नहुने निर्णय अमेरिकालाई जानकारी नगराइएको भनी रोष्ट्रम कब्जा गर्दै अमेरिकालाई पत्र पठाउन निरन्तर माग गरेका थिए । रावलले रोष्ट्रम नै कब्जा गरेपछि उक्त बैठक स्थगित भएको थियो ।
निरन्तर प्रश्न उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले ५ साउनमा सरकारलाई एसपीपीबारे भएको गतिविधिबारे जानकारी गराउन रुलिङ गरेका थिए । सोही रुलिङको पालना गर्दै परराष्ट्रमन्त्री खड्काले प्रतिनिधिसभामा जवाफ दिन लागेका हुन् ।




















