काठमाडौं । सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो संघीय निर्वाचनमा पनि नेपाली कांग्रेससँगै सहकार्य हुने बताएका छन् ।
बिहीबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे ‘ब्रिफिङ गर्दै प्रचण्डले फेरि पनि कांग्रेससँगै सहकार्य हुने बताए ।
कांग्रेससँग नै सहकार्य गर्ने हो अब दायाँ–बायाँ सोच्नुहुन्न, प्रचण्डको भनाइ उद्धत गर्दै स्थायी समिति सदस्य हरिबोल गजुरेलले भने ।
प्रचण्डले बैठकमा समाजवादी मोर्चा निर्माणमा भएको प्रयासबारे पनि जानकारी गराएका थिए । हालको गठबन्धनभित्रकै वामपन्थी दलहरुबीच मोर्चा बन्ने भए पनि पार्टी एकता संयोजन समितिबारे कुरा नटुंगिएको बताएका थिए ।
गठबन्धनभित्रै वामपन्थीहरुको एउटा मोर्चा त बन्छ । तर, पार्टी एकता संयोजन समिति बन्छ कि बन्दैन अझै टुंगिएको छैन, बैठकमा प्रचण्डले भनेका थिए । पोलिटब्युरो समितिका नाम र स्थायी समितिलाई पूर्णता दिनेबारे छलफल गर्न भोलि शुक्रबार बैठक बस्ने उनले बताए ।

























