काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद एवं नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा एसपीपी सम्झौतामा उल्लेखित बुँदाहरु कार्यान्वयन गर्न लागिपरेको आरोप लगाएका छन् ।
बुधवार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद रावलले प्रधानमन्त्री देउवाले ‘पिस कर्पोरेशन’को नाममा एसपीपी सम्झौतामा उल्लेखित बुँदाहरु नेपालका कार्यान्वयन गर्न लागेको आरोप लगाए ।
उनले प्रधानमन्त्री सो बुँदाहरु कार्यान्वयन गर्न लागि नपरेको भए एसपीपी कार्यान्वयन नगर्ने भनि मन्त्रीपरिषद्ले गरेको निर्णय अमेरिकालाई छिटोभन्दा छिटो पठाउन चुनौती दिनुभयो । संसदीय समितिले पटक-पटक निर्देशन दिँदा पनि पत्र नपठाउनुले गम्भीर आशंका उब्जाएको उनले बताए । उनले प्रधानमन्त्री देउवा नेपाललाई शक्ति राष्ट्रहरुको द्वन्द्वमा धकेल्न सक्रिय भएको आशंका पनि व्यक्त गरे ।
उनले भने, ‘पत्र नपठाउनु यो गम्भिर आशंकाको विषय हो । चर्चा भए अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा अरु कुनै नामबाट एउटा नाम आएको छ, शान्तिका लागि सहयोग । यस्तै कुनै पित्तललाई सुनको जलप लाएजस्तो कुनै जलप लगाएर केही समयअगाडि एसपीपीको सम्बन्धमा जुन दशबुँदे मस्यौदा आएको थियो त्यो मस्यौदामा उल्लेख भएका सम्पूर्ण कुराहरुलाई नेपालमा थोपर्न उहाँ भित्रभित्रै क्रियाशील हुनुहुन्छ भन्ने व्यापक चर्चा छ । यदि यो चर्चा असत्य हो भने म यहीँबाट यो सरकार, यसका प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु । उहाँले पत्र पठाएर यसलाई झुठा साबित गर्नुस् । जति उहाँले यसमा ढिलो गर्दै हुनुहुन्छ, त्यति यो कुरा सत्य हो भन्ने प्रमाणित हुन्छ ।’

























