काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट कारबाहीमा परेका जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको नयाँ पार्टीको नाम नेपाल समाजवादी पार्टी रहने भएको छ । उनको नयाँ पार्टीको नाम टुङ्गो लागे पनि सो पार्टीको अध्यक्ष पदबारे अझै अन्योल रहेको छ ।
भट्टराई पक्षका नेता गङ्गा श्रेष्ठका अनुसार दीपक लामिछाने अध्यक्ष रहेको समावेशी लोकतान्त्रिक पार्टीलाई संशोधन गरी नयाँ पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’ नाम राखिएको बताइएको छ ।
सो नाम निर्वाचन आयोगमा समेत पठाइसकिएको र आयोग पनि सो नामप्रति सकारात्मक रहेको बताइएको छ ।
यता पार्टीका नेता प्रशान्त सिंहले भने पार्टी गठनबारे अहिले कुनै कुरा टुङ्गो नलागेको बताउँदै आफूहरू छलफलकै क्रममा रहेको बताए । ‘विभिन्न नाममा छलफल चलिरहेको छ, आयोगसँग पनि परामर्श लिने काम भइरहेको छ । केही दिनमै सबैको कुराको टुङ्गो लाग्छ होला,’ उनले भने, ‘नेपाल समाजवादी पार्टी नाममा लगभग सबैको सहमति छ । तर त्यसलाई अन्तिम रूपमा दिन बाँकी छ ।’
अध्यक्षको टुङ्गो नलागेका कारण नयाँ पार्टीका लागि कार्यसमिति बनाउन ढिलो भइरहेको छ । बाबुराम पक्षका एक नेताले भने, ‘पार्टीमा अध्यक्ष को रहने र पदाधिकारी कतिजनाको बनाउने टुङ्गो लागेको छैन ।’
भट्टराईले नयाँ पार्टीमा तीनजना अध्यक्ष राख्ने प्रस्ताव गरेका छन् । एकजना खस आर्य, अर्को जनजाति र तेस्रो मधेसीबाट अध्यक्ष राख्ने प्रस्ताव उनको रहेको छ । मधेसीबाट महेन्द्र राय यादव वा राजकिशोर यादवमध्ये एकजना राख्ने, जनजातिबाट हिसिला यमी वा गङ्गा श्रेष्ठमध्येबाट एकजना राख्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

























