काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा विचार मिल्नेहरुबीच सहकार्यको प्रयास भइरहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले वर्तमान गठबन्धनलाई समेत कसिलो बनाउँदै विचार मिल्नेहरुबीच सहकार्यका निम्ति प्रयास भइरहेको बताएका हुन् ।
उनले गठबन्धन न्यायोचित रुपले हुनुपर्छ सबैलाई न्याय हुनुपर्ने बताए । तर विचार मिल्नेहरुसँग सहकार्य राम्रो हुनुपर्दछ भन्दै प्रचण्डले भने, ‘विचार मिल्नेहरुसँग सहकार्य गरेर गठबन्धनलाई बलियो बनाउनेगरी बल गरिएको छ । उनले वर्तमान निर्वाचन प्रणालीले भ्रष्टाचारलाई संस्थागत गरेको भन्दै यस प्रणालीलाई परिमार्जन गर्नेगरी बहस अघि बढाइनुपर्ने बताए।‘गाउँपालिका अध्यक्ष उठ्न १० करोडसम्म खर्च भएको सुनियो ।
गाउँपालिका अध्यक्षको यो स्थिति छ भने सांसद र मन्त्री हुन कति खर्च होला । सांसद भएपछि मन्त्री हुनुपर्यो । मन्त्री भएपछि लागत उठाउनुपर्यो । यो प्रणालीले भ्रष्टाचारलाई संस्थागत गर्छ,’ उनले भने । निर्वाचन प्रणालीलाई मितव्ययी बनाउन संघीय लोकतान्त्रिक गणतन्त्रमा सहमत दलहरुसँग छलफल गरिने उनले बताए ।

























