काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दलहरुको स्वार्थका कारण मुलुकको अस्तित्वमाथि नै खतरा उत्पन्न भएको बताएका छन् ।
आइतबार काठमाडौंमा राप्रपा निकट नेपाल प्राज्ञिक परिषदले आयोजना गरेको कार्यक्रममा लिङ्देनले आफ्नो स्वार्थलागि बिभिन्न शक्ति राष्ट्रसंग मुलुकको हित बिपरितका सम्झौताहरु गरिएको भन्दै यसले मुलुकको अस्तित्वमाथि नै खतरा उत्पन्न भएको बताए ।
उनले बार्षिक बजेट बनाउने क्रममा अर्थमन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गराउने र करको दायरा हेरफेर गर्ने कामदेखि देशको हित र जनताको चाहना बिपरित एमसीसी र एसपीपी जस्ता देशलाई कमजोर पार्ने सम्झौता गरिएको तर्क गरेका छन् ।
देशलाई दुर्घटनाबाट बचाउन चाहनेहरु एक ठाँउमा आउनुपर्ने वताउँदै अध्यक्ष लिङ्देनले अहिलेको राजीतिक प्रणाली र दलहरुबाट मुलुकमा राष्ट्रियता र शान्तिको कुनै सम्भावना नदेखिएको तर्क गरेका छन् । राप्रपाले भ्रष्ट निर्वाचन प्रणालीको बदला पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री तथा अभिभावकीय संस्थाको रुपमा राजाले मात्र मुलुकले स्थितरता प्राप्त गर्ने ठहर गरेको बताएका छन् ।
लिङ्देनले आफुहरुले अघि सारेको मुद्दा स्थापित गर्नका लागि सांसदको दुई तिहाइ बहुमत आवश्यक नपर्ने र निश्चित संख्याको शक्ति आर्जन गर्दा पुग्ने बताएका छन् ।
























