काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेकी सांसद गंगा चौधरीले नेपाली पुरुषसँग विवाह गरेर आएलगत्तै विदेशी महिलालाई नागरिकता दिने प्रावधान देशको हितविपरीत रहेको बताएकी छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा सहभागी हुँदै उनले यस्तो बताएकी हुन् ।
उनले सार्क मुलुकको सदस्य नेपालले सार्क देशमै नभएको विदेशी महिलालाई विवाह गरेर आएलगत्तै नागरिकता दिने व्यवस्था देश हितविपरीत रहेको बताइन् । १२ बुँदे सम्झौतापछि सजिलै नागरिकता पाउने ढोका खोलेको आरोप लगाउँदै उनले ४० लाख विदेशीले नागरिकता लिएको बताइन् । उनीहरुको सन्तानलाई वंशजका आधारमा नागरिकता दिए, देश कता जान्छ ? उनले बैठकमा प्रश्न गरिन् ।
चौधरीले केही नेताले विदेशीसँग गठबन्धन जोगाउन देशलाई अप्ठ्यारो पर्ने किसिमको नागरिकता ऐन ल्याउन लागेको आरोप लगाइन् ।
उनले केही दिनअघि विदेशमा गएर नेपाली नेताले सरकार जोगाउन, गठबन्धन जोगाउन आशिर्वाद मागेको र विदेशीको इच्छा मुताविकको नागरिकता विधेयक ल्याएको आरोप लगाइन् ।
“विदेशीलाई नागरिकता दिन नै माओवादी युद्ध भएको थियो ?” उनको प्रश्न थियो ।




















