काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मूल्यवृद्धि र महंगीप्रति सरकार संवेदनहीन भएको आरोप लगाएका छ्न् । बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै ज्ञवालीले जनताका समस्याप्रति सरकार गैरजिम्मेवार बनेको बताए ।
दैनिक उपभोग्य वस्तु, निर्माण सामग्रीको मूल्य बढेको, तर न्यूनतम ज्याला नबढेको भन्दै उनले भने, ‘आम सर्वसाधारण कसरी बाँचिरहेका छन्, सरकारको ध्यान छ यो विषयमा ?’ मूल्य नियन्त्रणका लागि राहत दिने, सुपथ मूल्य पसल चलाउने, बजार अनुगमन र कारबाही गर्ने लगायतका उपाय रहेको भन्दै एमाले उपमहासचिव ज्ञवालीले भने, ‘सरकारको ध्यान यो कुनै पनि विषयमा छैन ।’
संसदले रुलिङ गर्दा समेत किसानले मल नपाएको, विद्यार्थीहरुले पाठ्यपुस्तक नपाएको उनले बताए । ‘अहिले पनि विद्यार्थीहरुको हातमा पाठ्यपुस्तक पुर्याउन नसक्ने ? यो भन्दा नालायकी के हुनसक्छ । अहिले पनि किसानलाई मल उपलब्ध गराउन नसक्ने ? यो भन्दा गैरजिम्मेवार के हुनसक्छ,’ एमाले उपमहासचिव ज्ञवालीले संसदमा भनेका छन्, ‘गरिबीको रेखामुनि परेका जनतालाई राहत दिन नसक्ने हो भने सरकार हुनु र नहुनुको के अर्थ रहन्छ ?’
सरकार जनताका समस्याहरुप्रति गैरजिम्मेवार र मूल्यवृद्धि नियन्त्रणको मामिलामा तमासे समेत बन्न नसकेको उनले बताए । उनले यसबारे सरकारलाई रुलिङ गर्न समेत उनले सभामुखसँग माग गरेका छन् ।




















