काठमाडौं । संसदीय छानबिन विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिएको छ ।
समितिले आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका बेला अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्तिको प्रवेश र त्यस समयको सीसीटीभी फुटेज हराएको विषयमा शर्मासँग बयान लिएको हो ।
बयानका क्रममा शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिहरुको संलग्नता नभएको जिकिर गरे । बयानपछि संक्षिप्त प्रतिक्रिया दिंदै शर्माले भनेका छन्, ‘मैले उहाँहरुले सोधेका प्रश्नको जवाफ दिएको छु, बाँकी सबै कुरा उहाँहरुले भन्नुहुन्छ ।’ शर्माले पत्रकारहरुले सोधेका अन्य प्रश्नको जवाफ दिन पनि इन्कार गरे ।
बजेट निर्माणमा अनाधिकृत व्यक्ति सहभागी भई कुनै निश्चित समूहलाई फाइदा पुग्ने गरी करका दर हेरफेर गरेको आरोप लागेपछि छानबिनका लागि ११ सदस्यीय संसदीय समिति बनेको थियो । समिति बनेसँगै शर्माले असार २२ गते अर्थमन्त्रीबाट राजीनामा दिएका हुन् ।




















