काठमाडौँ । बाबुराम भट्टराईले अब आफू कुनै कम्युनिष्ट पार्टीमा नजाने बताएका छन् ।
जनता समाजवादी पार्टीले कारबाही गरेका भट्टराईले मंगलबार साँझ सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै भट्टराईले समाजवादी केन्द्र निर्माण आफ्नो लक्ष्य भएको बताए ।
मंगलबार बिहान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेपछि धेरै उनी फेरि माओवादीमा फर्किन लागेका हुन् कि भन्ने अनुमान गरेका थिए । म अब कम्युनिष्ट पार्टीमा जान्नँ,’ भट्टराईले भने,‘मेरो लक्ष्य समाजवादी केन्द्र बनाउने हो । त्यही शिलशिलामा आज प्रचण्डजीसँग कुरा भएको हो । सामान्य छलफल भयो ।’
जसपामा रहे पनि वा नयाँ पार्टी गठन गरे पनि वर्तमान गठबन्धनमा रहनुपर्ने अध्यक्ष प्रचण्डको आग्रह थियो । भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार प्रचण्डले आफ्नो भारत भ्रमणका बारेमा पनि जानकारी गराएका थिए ।
समाजवादी केन्द्र बनाउन आफूले प्रस्ताव गरेको र प्रचण्डले चुनाव पनि आउँदैछ के गर्ने भनेको उनले बताए । ‘उहाँहरू कम्युनिष्ट पार्टी छोड्न तयार हुनुहुन्न,’ भट्टराईले भने । समाजवादी केन्द्र बनाउनेबारे आफूले माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली, वामदेव गौतमसँग पनि कुरा गरेको भट्टराईले बताए ।




















