काठमाडौं । राप्रपाका चारजना नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
पार्टी परित्याग गर्नेहरूमा दिलनाथ गिरी, श्याम तिमल्सिना, केशव राज श्रेष्ठ र दिल विकास राजभण्डारी छन् । चारैजनाले संयुक्त विज्ञप्ति जारी गर्दै राप्रपाको साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेको घोषणा गरेका हुन् ।
चार नेतालाई यसअघि पार्टीले स्पष्टीकरण सोधेको थियो । उनीहरूले राप्रपाभित्र सर्वसत्तावाद र अहङ्कार मौलाएको, विधि विधानको धज्जी उडिरहेको भन्दै यस्तो अवस्थामा अपमानित र निरीह भएर पार्टीभित्र बस्न सक्ने अवस्था नभएको उल्लेख गरेका छन् ।
उनीहरूले मुलुकमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता बढेर गएकाले यो अभियानमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएका छन् ।
पार्टीलाई वैकल्पिक शक्तिको रूपमा स्थापित गर्ने आफूहरूले प्रयास गरे पनि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहितको नेतृत्वले अप्रजातान्त्रिक र निर्मम ढङ्गले तल्लो स्तरको लाञ्छना लगाउँदै अपराधीझैँ करार गर्दै अपमानित गर्ने दुष्प्रयास गरेको उनीहरुले आरोप लगाएका छन् ।





















